Madan Tamang

भगवान कसले बनायो?

श्रावणको महिना थियो, त्यही माथि पहिलो सोमबार। म बिहानै नुवाई–धुवाई गरेर पशुपतितिर लागेँ। बाटोमा निकै भीड थियो। भीडभाडलाई छिचोल्दै म पशुपति पुगेँ। पशुपतिको गेटभित्र छिरेर दाहिनेतर्फ १०८ वटा शिवलिङ्ग भएको ठाउँमा गएँ। त्यहाँ भने भीड थिएन। देख्दा रामको प्रतीक्षामा बसेकी सवारीजस्तै सादा भेषमा एउटा बुढी आमा, भर्खरको दुधे बालकले ताते–ताते गरेर हिँड्न सिकेजस्तै गरी वेदको लौरोको सहारा बनाएर हिँड्दै हुनुहुन्थ्यो।

त्यत्तिकैमा अगाडि–पछाडि अंगरक्षकको साथमा मन्दिरको पुजारीको प्रस्थान भयो। सबै लाखापाखा लागे। सायद ती बुढी आमा कान कम सुन्नुहुन्थ्यो होला। पुजारीको कठोर आवाजसँगै आमा हुत्तिएर मलाई समात्न आइपुग्नुभयो।

“मूर्ख, आँखा देख्दैनस्? प्रभुलाई स्नान गराउन ल्याएको पवित्र जल अपवित्र गराइदिस्।”

ती आमाले मेरो मुख हेर्दै भन्नुभयो, “बिहानै उठेर नुवाई–धुवाई गरी, सकिनसकी मेरो प्रभुलाई दर्शन गर्न आएको। आज मबाट ठूलो पाप भयो। हे प्रभु, मलाई माफ गरिदिनु है। मलाई माफ गरिदिनु शम्भु। मैले तपाईँलाई स्नान गराउने पानी बिटुलो गराइदिएँ।”

आफूलाई सम्हाल्दै परसम्म ती बुढी आमा “मलाई माफ गरिदिनु भगवान, माफ पाऊँ प्रभु, माफ पाऊँ प्रभु” भन्दै पशुपतितिर लाग्नुभयो।

म अलि पर कलीको मूर्ति भएको मन्दिर, सिधै माथि पशुपतिको पछाडिपट्टि गएर जल्दै गरेको लास हेर्दै अघिको पण्डितले भनेका शब्दहरू दोहोराउँदै सोचें— म त भ्रममा रहेछु। मानवद्वारा प्रभुलाई स्नान गराएपछि मात्र भगवान पवित्र हुने रहेछन्। म त शिवको स्पर्शले आफूलाई पवित्र बनाउने गर्थें।

पछाडि पशुपतितिर फर्किएर आफैँलाई प्रश्न गरेँ— आखिर कसले कसलाई बनायो? मान्छेले भगवान बनायो कि भगवानले मान्छे? साँच्चै कसले कसलाई बनायो? भगवान कसले बनायो?

✍️ सृष्टि एरी

तनहुँ

Previous Post Next Post